अमेरिकी अध्यागमन अधिकारीहरूले जर्जटाउन विश्वविद्यालयका अनुसन्धानकर्ता बदर खान सुरीलाई पक्राउ गरेका छन्।
होमल्याण्ड सुरक्षा (सेक्युरिटी)विभागका स्रोतहरूका अनुसार ट्रम्प प्रशासनले महाबिद्यालय र बिश्वबिद्यालयहरूमा कार्यकर्ताहरू विरुद्ध कारबाहीलाई कडा बनाइरहेका बेला यो गिरफ्तारी गरिएको हो।
सुरी भारतीय नागरिक हुन् र जर्जटाउन विश्वविद्यालयमा विधावारिधि (पोस्टडक्टोरल )अनुसन्धानकर्ता रहेका थिए। उनी विद्यार्थी प्रवेशाज्ञा (भिसा)मा अध्ययन र अध्यापन गरिरहेका थिए।
विश्वविद्यालयका प्रवक्ताले दिएको जानकारी अनुसार सुरीले इराक र अफगानिस्तानमा शान्ति निर्माण सम्बन्धी आफ्नो अनुसन्धान जारी राख्न प्रवेशाज्ञा (भिसा) प्राप्त गरेका थिए। “हामीलाई उनको कुनै अवैध गतिविधिमा संलग्नताको जानकारी छैन, र उनको गिरफ्तारीको कारणसमेत दिइएको छैन,” प्रवक्ताले सीबीएस न्यूजलाई बताए।
तर, होमल्याण्ड सेक्युरिटी विभागका प्रवक्ताले सुरीलाई “हमासको प्रचार गर्ने र सामाजिक सञ्जालमा यहुदीविरोधी विचार फैलाउने” आरोप लगाएका छन्। साथै, उनी एक संदिग्ध आतंकवादीसँग सम्पर्कमा रहेको दाबी गरिएको छ।
मार्च १५ मा विदेशसचिव मार्को रुबियोले सुरीलाई अमेरिका छोड्नुपर्ने निर्णय गरेका थिए। उनलाई लुजीयानाको एलेक्जान्ड्रिया अन्तर्राष्ट्रिय विमानस्थल नजिकको आईसीई हिरासतमा राखिएको छ ।
सुरीको रिहाइको माग गर्दै मार्च १८ मा अदालतमा मुद्दा दायर गरिएको छ।
यो गिरफ्तारी न्यूयोर्कमा मार्च ८ मा कोलम्बिया विश्वविद्यालयका विद्यार्थी महमुद खलीललाई आईसीईले पक्राउ गरेपछि भएको अर्को विवादास्पद घटना हो। खलील पनि लुजीयानाको थुनुवा घरमा छन्। अधिकारीहरूले उनलाई हमास समर्थित गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्, तर कुनै प्रमाण प्रस्तुत गरिएको छैन।
प्रतिक्रिया