अमेरिकाको भर्जिनिया राज्यको अलेक्जान्ड्रियामा पूर्व संघीय अभियोजक जेसिका एबर शनिबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। स्थानीय समयअनुसार बिहान ९:१८ बजे प्रहरीलाई एउटा अचेत महिलाबारे खबर प्राप्त भएपछि घटनास्थलमा खटिएको अलेक्जान्ड्रिया प्रहरी विभागले जानकारी दिएको छ। प्रहरीहरू पुगेपछि ४३ वर्षीया एबरलाई मृत अवस्थामा फेला पारे। घर एबरकै हो वा कसले प्रहरीलाई खबर गर्यो भन्ने विषयमा भने तत्काल स्पष्ट नभएको सिबिएसन्यूजले जनाएको छ ।
उनको मृत्युको कारण भर्जिनिया चिकित्सा परीक्षक कार्यालयले निर्धारण गर्नेछ। घटनाको छानबिन सुरु भइसकेको प्रहरीले जनाएको छ।
जेसिका एबरलाई राष्ट्रपति जो बाइडेनले अगस्त २०२१ मा अमेरिकी अधिवक्ता (पूर्वी जिल्ला भर्जिनिया) का रूपमा नियुक्त गरेका थिए। सिनेटले सर्वसम्मतिले उनको नियुक्ति अनुमोदन गरेको थियो। करिब तीन वर्षसम्म विभागको नेतृत्व गरेपछि उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि सन् २०२५ को जनवरीमा पदत्याग गरेकी थिइन्।
एबरका उत्तराधिकारी र वर्तमान अमेरिकी अटर्नी एरिक सिबर्टले जारी गरेको विज्ञप्तिमा उनले भनेका छन्, “हामी हाम्रो प्रिय साथी र सहकर्मी जेसिका एबरको असामयिक निधनको खबरले स्तब्ध छौं। उनी एक उत्कृष्ट नेतृ, कुशल मार्गदर्शक र अद्वितीय अभियोजक थिइन्। उनको योगदान सधैं स्मरणीय रहनेछ।”
जेसिका एबर भर्जिनिया निवासी थिइन् । र ,उनले रिचमण्ड बिश्वबिद्यालयबाट पूर्वस्नातक तथा विलियम एन्ड मेरी ल कलेज( कानुन बिद्यालय )बाट सन् २००६ मा कानूनको उपाधी हासिल गरेकी थिइन्।
प्रतिक्रिया