भर्जिनियामा भारतीय मूलका पिता र छोरीको गोली हानी हत्या: ६ वर्षअघि अमेरिका आएका गुजरात मेहसाना जिल्ला निवासीको दुःखद मृत्यु

इनेप्लिज २०८१ चैत १० गते २२:३७ मा प्रकाशित

अमेरिकाको भर्जिनियामा एक पसलमा गोलीकाण्ड हुँदा ५६ वर्षीय भारतीय पुरुष र उनकी २४ वर्षीया छोरीको ज्यान गएको छ। यो दुःखद घटना गत बिहीबार, अकोम्याक काउन्टीमा रहेको पसल खुल्ने केही समयपछि भएको हो।

प्रहरीले यसै सिलसिलामा ४४ वर्षीय आरोपी जर्ज फ्रेजियर डेभन व्हार्टनलाई पक्राउ गरेको छ। विवरणहरु अनुसार, आरोपी बिहीबार बिहान पसलमा मदिरा किन्न पुगेका थिए र रातभर किन पसल बन्द रहेको भनी सोधेका थिए। त्यसपछि उनले पिताछोरीमाथि गोली चलाए। प्रदीप पटेलको घटनास्थलमै मृत्यु भयो भने छोरी उर्मि पटेलले अस्पतालमा उपचारका क्रममा ज्यान गुमाइन्।

प्रदीप पटेल, उनकी पत्नी हंसा पटेल र छोरी उर्मि गुजरातको मेहसाना जिल्ला निवासी हुन्। उनीहरू छ वर्षअघि अमेरिका आएका थिए । एक नातेदार परेश पटेलको स्वामित्वमा रहेको सो पसलमा काम गर्थे। परेश पटेलले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै भने, “आज बिहान मेरी भाउजू र ससुरा पसलमा काम गरिरहेका थिए। एक व्यक्तिले आएर गोली हानिदिए। म के गरूँ थाहा छैन।”

प्रदीप र हंसा पटेलका दुई अन्य छोरीहरू छन् । जो एक क्यानडामा र अर्की अहमदाबादमा बस्छिन्। आरोपी व्हार्टनमाथि प्रथम श्रेणीको हत्या, हतियारसम्बन्धी अपराध र फौजदारी मुद्दा दर्ता गरिएको छ।

यस घटनाले मेहसाना जिल्लाका उनका परिवारजन र अमेरिकी भारतीय समुदायमा गहिरो शोक छाएको छ। प्रदीपका काका चन्दु पटेलका अनुसार, “स्थानीय संचार माध्यम र सामाजिक संजालमा श्रब्यदृश्य (भिडियो)बाट घटना थाहा भयो। प्रदीपकी छोरीसँग कुरा गर्दा सबै विवरण पायौं।”

यो घटना केही महिना पहिले नर्थ क्यारोलाइनामा भएको एक अर्काे गोलीकाण्डसँग मेल खान्छ, जहाँ ३६ वर्षीय भारतीय मूलका मैनांक पटेलको पसलमा डकैतीका क्रममा हत्या भएको थियो।

प्रतिक्रिया