मध्य अमेरिकी देश बेलिजमा तीन अमेरिकी महिलाको कार्बन मोनोअक्साइड विषाक्तताबाट मृत्यु

इनेप्लिज २०८१ चैत १३ गते ११:३२ मा प्रकाशित

मध्य अमेरिकी देश बेलिजका अधिकारीहरूले तीन अमेरिकी महिलाको मृत्यु कार्बन मोनोअक्साइड विषाक्तताको कारणले भएको पुष्टि गरेका छन्। ती महिलाहरू म्यासाचुसेट्स राज्यको रिभेयर शहरका २३ वर्षीया कौतार नकद, २४ वर्षीया इमाने मलाह, र २६ वर्षीया वफाए एल-अरार भएको अधिकारीहरुले बताएका छन् । उनीहरू गत फेब्रुअरीमा बेलिजको एक अतिथी गृह (होटल )कोठामा अचेत अवस्थामा फेला परेका थिए।

प्रारम्भिक जाँचमा फोक्सोमा तरल पदार्थ जमेको देखिए पनि मृत्युको ठोस कारणका लागि थप परीक्षण भइरहेको थियो। बुधबार राष्ट्रिय फरेन्सिक विज्ञान सेवा का कार्यकारी निर्देशक जियान चोले ती तीन महिलामा ६०% भन्दा बढी कार्बोक्सिहेमोग्लोबिन स्तर पाइएको जानकारी दिए। सामान्यत: यो स्तर धूम्रपान नगर्ने व्यक्तिमा २% र धूम्रपान गर्नेमा ५% भन्दा कम हुन्छ।

बेलिजका प्रहरी प्रमुख चेस्टर विलियम्सले अनुसन्धानकै क्रममा अतिथिगृहको कोठाको दोस्रो परीक्षण पनि गरिएको तर थप नतिजा आउन बाँकी रहेको बताए। साथै, घटनास्थलमा भेटिएका मदिराहरूमा जाँच गर्दा एकमा टीएचसी (क्यानाबिसको तत्व) देखिए पनि महिलाहरूको शरीरमा कुनै अवैध पदार्थ भेटिएको थिएन।

मृतकका परिवारले संयुक्त वक्तव्य जारी गर्दै भने, “हाम्रो प्रियजनहरूको असामायिक निधनले हामीलाई चकनाचूर बनाए पनि यो अनुसन्धानले सत्यतथ्य उजागर गरेर हामीलाई केही राहत दिएको छ।”

परिवारले प्राप्त समर्थनप्रति आभार व्यक्त गर्दै भने, “हामी सबैलाई यो दुःखद घडीमा निरन्तर प्रार्थना, धैर्य र गोपनीयता कायम राख्न अनुरोध गर्छौं। कौतार, इमाने, र वफाएको आत्माले चिर शान्ति पाओस्। उनीहरूको सम्झनामा हाम्रो प्रेम सधैं अमर रहनेछ।”

प्रतिक्रिया