भेटको लागि धेरै चाकरी बजाइयो, यस्तो कामले राष्ट्रको स्वाभिमानमा अझ ह्रास आउँछ। नभेट्दैमा नोक्सान हुन्न र टाडा पनि भइन्न। आज यति समय वितिसक्यो ईपिजी ‘EPG’ छेउ न पुच्छर भएको छ। बहुदल आएपछि हामीले समान हैसियत राख्न सकेका छैनौं।
लुटाएका छौं, लम्पसार परेका छौं- यसैलाई पर-राष्ट्र नीतिको सफलता मानेका छौं।
पर-राष्ट्र मामलाका आफुलाई ज्ञाता भन्नेहरु चुँ गर्दैनन्, लोभ जो छ। अझ प्रा. डा. लोक राज बराल जस्तो प्रख्यात् प्रतिष्ठित व्यक्तिले समेत कुनै उद्देश्यको निमित्त गएको सम्मेलनको एक कुनामा जि हाजिर गरि भन्दै र,अर्को राष्ट्रको समकक्षीले चाहेर वा नचाहेर दिएको समयलाई सफलताको नमूनाको रुपमा दर्शाउनु नेपालको स्वाभिमानलाई मनदेखि आत्मसाथ नगरेको बुझिन्छ।
भारतसँग लम्पसार मात्र पर्ने, कुखुरे छाती देखाउने अनि बोल्न नसक्नु नै पर-राष्ट्र सञ्चालनमा देखिएको पहिलो कमजोरी हो। भारत हाम्रो अभिन्न मित्र हो। उसलाई छाती फुलाएरै निर्धक्कसँग मेरो यो यो सिमा मिचेका छौ, यस्तो नगरिदिनुस् भन्न हिच्किचाउनु पर्दैन। हाम्रो सानो अर्थतन्त्र छ, धेरै व्यापार घाटा भयो, हाम्रो सामानमा कर कम गर्नुस्, सजिलोसँग बजारमा पुग्न दिनुस् भन्न सकिन्छ।
भारतलाई नै उसको सिमाबाट नेपाल आउने रेल बनाउनुस् भन्न गाह्रो छैन साथै चिनलाई पनि यो कुरा भन्नु पर्छ। दुई देशको पर्यटक सहज रुपमा आउने रेल मार्ग नै हो। पर्यटकीय व्यवस्था सहि गर्न नसकेसम्म नेपाल धनी हुनै सक्दैन र नेपाली नागरिकले अधिक रोजगार पाउन सक्दैनन्। यो प्राथमिक क्षेत्रमा राखिनु पर्ने विषय हो।
नेपाल-भारत संवन्ध सञ्चालनमा जतिखेर पनि कुट्नैतिक माध्यमको सुगा रटाई गर्नु पर्दैन। सिधा सिधा कुरा राख्नु पर्छ। राजा महेन्द्रले सबै कुरा सिधा राख्थे। उनले सुल्झाइहाल्न नसकेको कालापानी मामला अबको शासकले सुल्झाउनु पर्छ। राजा महेन्द्रले प्रयास गरेकै भएर १८ वटा भरतीय सेनाको चौकी हटाएका हुन्। कालापानी भारतलाई दुख पर्दा, समस्या पर्दा अस्थायी रुपमा प्रयोग गर्न दिएका मात्र हुन्। त्यसो नभएको भए त्यहाँ उनले जनगणना गर्न कसरी सक्थे? त्यति मात्र नभएर मालपोत समेत कसरी लिन सक्थे?
राजा विरेन्द्रको समयमा अलि कमजोरी गरियो, त्यो भन्दा कमजोरी बहुदल आएपछि लम्पसार पर्ने नीतिले गर्दा भयो। हाकाहाकी नेपालको सिमाभित्र बाटो बनाउँदा समेत बोल्न सक्दैनन् अहिलेका कुखुरे छाती भएका शासक वर्ग। स्वार्थले मुखमा ताला झुण्डिएको छ। कालापानीको विषयलाई लिएर राजा महेन्द्रलाई दोष दिनु भनेको आफ्नो कमजोरी लुकाउने छलकपटी व्यवहार हो। जानेको नै त्यही भएपछि छिमेकीसँग कसरी ठाडो शिर गरेर कुरा गर्न सकिन्छ। उही चोरले बाटो ढुकेको जस्तो हो। अहिले ओली-मोदी भेट पनि चोरले बाटो ढुकेको जस्तो मात्रै हो। चाकरी भजाई भजाई सेवामा हाजिर भएँ भनेर अर्कोले दया गरेर दिएको दर्शन भेटको पर-राष्ट्र नीतिलाई सफलताको कसिमा राख्नु दुर्भाग्य हो।
प्रतिक्रिया