श्रीजन ताम्राकार
कहाँ हुन्छन् र सबै आफ्ना अंगालोमा बाँधिनेहरु —
कहाँ हुन्छन् र सबै आफ्ना अंगालोमा बाँधिनेहरु
बादल जस्तै बदल्दो रहेछ क्षणभर मै रुपरंगहरु
चोटमाथि चोट थपेर आशै मारिदिनेहरु
चिन्नै सकिएन आफैलाई विष पिलाउनेहरु
बुझ्नै सकिएन जालीहरुका झेली दाऊहरु
कति गहिरो छ कसरी देखाउँ पिठका घाऊहरु
दोषी चस्मा लगाएर नजर लुकाउनेहरु
चिन्नै सकिएन आफैलाई विष पिलाउनेहरु !
झुकेर आए झुक्याएर कोही कोठा र चोटाहरु
भत्काएर कम्जोर दलिन घरको लागे आ-आफ्नै बाटाहरु
साँचेको एकमुठ्ठी श्वासपनि लुटी लानेहरु
चिन्नै सकिएन आफैलाई विष पिलाउनेहरु
कहाँ हुन्छन्र सबै आफ्ना अंगालोमा बाँधिनेहरु
बादल जस्तै बदल्दो रहेछ क्षणभर मै रुपरंगहरु !!
श्रीजन ताम्राकार , हाल बाल्टिमोर अ्मेरिका
लेखक परिचय : श्रीजन ताम्राकार, नेपाली गीत-संगीत क्षेत्रका एक चर्चित तथा स्थापित कलाकार हुन्हुन्छ। नब्बेका दशकको चर्चित नेपाली सांगीतिक समुह ‘ओकिली’ का गीतकार, संगीतकार तथा गायक श्रीजन करिव ढेड दशक देखि अमेरिकाको बाल्टिमोर -मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आउनु भएको छ।
नेपालमा रहँदा काठमाण्डै उत्सव, ट्रेडेक्स, शिखर एक्सप्रेस लगायतका बिभिन्न सांगीतिक कार्यक्रम र महोत्सवहरुमा आयोजक र संयोजकका रुपमा निकै सक्रिय उनी आफ्नो लामो अनुभवहरुलाई निरंतरता दिँदै अमेरिकमा पनि नेपाली समुदायमा हुने कन्सर्ट, नेपाल फेस्ट, बृहत नेपाली सडक महोत्सव, चलचित्र प्रदर्शनी, श्रष्टा भेला, ईनास अनपल्गड जस्ता बिभिन्न महत्त्वपूर्ण सांस्कृतिक र साहित्यिक कार्यक्रमहरुलाई कुशलताका साथ नेतृत्व गरि आफ्नो बेग्लै इतिहास कोरिसकेका छन् ।
मेरिल्याण्ड राज्यमा नेपाली समुदायको आफ्नै पहलमा निर्माण भैरहेको हिन्दु बुद्ध मन्दिर निर्माण अभियान, विभिन्न सामाजिक, साहित्यिक, साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु साथै ईनेप्लिज, नाम्लो पडकास्ट, “मेरिल्याण्डका हामी नेपाली” लगायतका स्थानीय अनलाईन मिडियाहरुमा समेत अत्यन्त सक्रिय उनी हाल “अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज – ईनास अमेरिका” को वरिष्ठ उपाध्यक्षको रुपमा रहि नेपाली भाषा, साहित्य, कला-संस्कृति र संगीतमा समर्पित श्रष्टा, सर्जक, कलाकारहरु र यस क्षेत्रलाई माया गर्ने समुदायलाई एक्यवद्ध गरि यस क्षेत्रको सम्बर्द्धन र प्रवर्द्धनमा निरन्तर क्रियाशील रहेका छन् ।
स्थानीय रुपमा हुने बिभिन्न सामाजिक गतिविधि र अभियानहरुमा उनको सक्रियता, साथ र समर्पणको उत्तिकै चर्चा पाईन्छ भने जसका लागि बिभिन्न संघसंस्था तथा स्थानीय राज्य सरकारका बिभिन्न निकायहरुबाट समेत सम्मानित समेत भइसकेका छन्।
गीत संगीत, मनोरञ्जन र सामाजिक सेवाका साथमा साहित्यमा पनि अत्यन्तै रुचि राख्ने उनले बेलाबेलामा बिभिन्न माध्यमहरुबाट आफ्ना सृजनाहरु पस्केने गरेका छन्। त्यसै सिलसिलामा आज उहाँको एउटा रचना यहाँ प्रस्तुत गरेका छौं।
प्रतिक्रिया