राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सर्वोच्च अदालतले बिदेशी शत्रु ऐन कार्यान्वयन गर्न दिने निर्णयलाई “अमेरिकामा न्यायको लागि महान् दिन” भन्दै स्वागत गरेका छन्।
उनले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा यस्तो लेखेका छन् “सर्वोच्च अदालतले हाम्रो देशमा कानूनको शासनलाई समर्थन गर्दै कुनै पनि राष्ट्रपतिको सीमा सुरक्षाको अधिकार सुनिश्चित गरेको छ। यो हाम्रो परिवार, हाम्रो देशको सुरक्षाको लागि ठूलो विजय हो। आज अमेरिकाको लागि न्यायको महान् दिन हो।”
सर्वोच्च अदालतको यो निर्णय ट्रम्पलाई सन् १७९८ मा पारित भएको एलिएन इनिमी एक्ट अर्थात् बिदेशी शत्रु ऐन अन्तर्गत विदेशी नागरिकहरूको छिटो निष्कासन गर्न अस्थायी अनुमति दिन्छ, जबकि यस ऐनको प्रयोग सम्बन्धी मुद्दा तल्लो अदालतहरूमा अझै चलिरहेको छ।
यस निर्णयमा अदालतले स्पष्ट पारेको छ । भविष्यमा हटाइने व्यक्तिहरूलाई यो ऐन अन्तर्गत हटाइँदैछ भनेर जानकारी दिइनु पर्नेछ र उनीहरूलाई पुनरावलोकनको अवसर प्रदान गर्नुपर्नेछ।
तर, सर्वोच्च अदालतका तीन जना उदारवादी न्यायाधीशहरूले यस निर्णयमा असहमति जनाएका छन्। त्यस्तै, न्यायाधीश एमी कोनी ब्यारेटले पनि आंशिक असहमति जनाएकी छन्।
यो मुद्दा अमेरिकी संघीय न्यायाधीश जेम्स बोस्बर्गको आदेशविरुद्धको आपतकालीन अपिल थियो, जसले पाँच भेनेजुएलावासीहरूलाई हटाउने ट्रम्पको प्रयासमा रोक लगाएको थियो। अब सर्वोच्च अदालतले बोस्बर्गको आदेश खारेज गर्दै राष्ट्रपति ट्रम्पलाई कानुनी विजय प्रदान गरेको छ।
प्रतिक्रिया