अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार पुष्टि गरेअनुसार चीनबाट अमेरिका भित्रिने सामानहरूमा अब कम्तीमा १४५% भन्सार दर लाग्नेछ।
ट्रम्पले बुधबार घोषणा गरेको १२५% “पारस्परिक” भन्सार दर पहिल्यै लागु रहेको २०% भन्सारमाथि थपिएको हो। शुरुमा यी दरहरू छुट्टाछुट्टै कि जम्मा हुने कि भन्ने स्पष्ट नभएता पनि तर ह्वाइट हाउसले यी दरहरू जोडिने स्पष्ट पारेको सिएनएनले जनाएको छ।
राष्ट्रपति ट्रम्पले २०% भन्सार दरलाई चीनमार्फत अमेरिका भित्रिने अवैध आप्रवासन र फेन्टानिल जस्ता घातक पदार्थहरूसँग जोड्दै चीनलाई जिम्मेवार ठहराएका छन्।
यसबाहेक, मे २ बाट लागु हुनेगरी चीनबाट आउने ८०० डलर भन्दा कम मूल्यका सामानहरूमा पनि भन्सार दर १२०% पुर्याइएको छ।
यो कदमसँगै अमेरिका र चीनबीचको व्यापार युद्ध अझ चर्किएको छ। चीनले यसअघि नै चीन व्यापार युद्ध चाहँदैन, तर यदि अमेरिका अडिग रहन्छ भने चीन अन्तिमसम्म लड्न तयार रहेको बारम्वार दोहोर्याएको छ ।
ट्रम्प प्रशासनको यो नयाँ भन्सार नीति अमेरिकी घरेलु उत्पादन र रोजगारी संरक्षणको नारा लिएर अघि बढाइएको छ, तर विश्लेषकहरूका अनुसार यसले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा थप तनाव ल्याउनेछ ।
प्रतिक्रिया