अमेरिकी सर्वोच्च अदालतद्वारा गल्तीको कारण एल साल्भाडोरमा पुर्याईएका मेरिल्याण्ड निवासी गार्सियाको रिहाइका लागि आवश्यक कदम चाल्न आदेश

इनेप्लिज २०८१ चैत २८ गते ०:२८ मा प्रकाशित

अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई मेरिल्याण्ड निवासी किल्मार अब्रेगो गार्सियाको रिहाइका लागि आवश्यक कदम चाल्न आदेश दिएको छ । उनलाई गल्तीवश एल साल्भाडोरमा निर्वासित गरिएको थियो।

सर्वोच्च अदालतले गार्सियाको मुद्दा त्यस्तै तरिकाले प्रक्रिया अगाडि बढाइनुपर्ने सुझाव दिएको छ ।

हाल गार्सिया कुख्यात साल्भाडोरको सुपरम्याक्स जेल (झ्यालखाना ) मा बन्द छन्। साथै सर्वोच्च अदालतले जिल्ला अदालतलाई आदेशको व्याख्या स्पष्ट गर्न भनेको छ ।

यो मुद्दामा तीन उदार न्यायाधीशहरु क्रमस सोनिया सोतोमयोर, एलिना कगन र केतान्जी ब्राउन ज्याक्सनले अदालतको निर्णयमा सहमति जनाएका छन्।

गार्सिया सन् २०११ मा १६ वर्षको उमेरमा अमेरिका आएका थिए। २०१९ मा उनलाई आप्रवासन अधिकारीहरूले गिरफतार गरेका थिए। ट्रम्प प्रशासनले गार्सियालाई एमएस-१३ गिरोहसँग जोड्ने प्रयास गरे पनि प्रमाणहरू अविश्वसनीय रहेको वकिलहरूले बताएका छन्।

उनले मेरिल्याण्डमा पत्नी र छोराछोरीसँग छ वर्ष बिताएका थिए र नियमितरूपमा आप्रवासन कार्यालयमा हाजिर भइरहन्थे। तर मार्च १२ मा उनलाई हिरासतमा लिएर एल साल्भाडोर पठाइयो, जुन अदालतले ‘प्रशासनिक गल्ती’ को रूपमा स्वीकार गरिसकेको छ।

अब अदालतले गार्सियालाई अमेरिका फर्काउने प्रक्रिया तत्काल सुरु गर्न आदेश दिएको छ।

प्रतिक्रिया