एक अमेरिकी संघीय न्यायाधीशले आप्रवासीहरूलाई उनीहरूको मूल देश बाहेक अन्य देशहरूमा निष्कासन गर्ने ट्रम्प प्रशासनको नीतिमा अस्थायी रोक जारी राख्ने निर्णय गरेका छन्।
बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश ब्रायन मर्फीले यो नीति “गम्भीर रूपमा चिन्ताजनक” भएको भन्दै अर्को हप्ता सम्मका लागि अस्थायी रोक जारी राख्ने निर्णय गरेका हुन्। उनले थप स्थायी रोक लगाउने सम्भावना रहेको पनि संकेत गरे।
न्यायाधीशले सुनुवाइको क्रममा भने, “यदि कसैलाई भोलि बिहानै ६ बजे एउटा यस्तो देशमा लगियो जहाँ उनीहरु मारिन पनि सक्छन, तर उनीहरुले त्यो बारे केही भन्नै पाउँदैन भने त्यो निकै समस्याजनक हो।”
वकिल त्रिना रियलमुटोले भनिन् “यो नीति झुटो बहानामा मानिसलाई उनीहरूकै सुरक्षा खतरामा पार्ने देशमा पठाउँछ।” उनले ट्रम्प प्रशासनद्वारा जारी गरिएको नयाँ सुरक्षा निर्देशन पनि अपूरो रहेको बताइन्, किनभने आप्रवासीहरूसँग वकिल राख्ने, प्रमाण जुटाउने वा न्यायिक पुनरावलोकनको मौका नै छैन।
ट्रम्प प्रशासनले भर्खरै १७ जना आपराधिक गिरोह सदस्यलाई एल साल्भाडोरको खतरनाक जेलमा पठाएको दाबी गरे पनि वकिलहरू भन्छन्, कम्तिमा दुई जनालाई आफ्नो देश भेनेजुएलामा फर्काउने आदेश थियो, तर उनीहरूलाई अपील गर्न नदिई जबरजस्ती एल साल्भाडोर पठाइयो। एक पीडित माइकर एस्पिनोसा, अहिले एल साल्भाडोरमा बन्दी छन्, उनकी पत्नी र एक वर्षे बच्चा अमेरिकामा अलग–अलग बन्दी छन्।
परिवारले ट्रम्प प्रशासनको आरोप अस्वीकार गर्दै भनेको छ, “ट्रम्प प्रशासन झूट बोली रहेको छ । आधा भेनेजुएला अपराधी हो भन्ने तर्क विश्वास गर्न सकिन्न।”
प्रतिक्रिया