अमेरिकाले गल्तीले एल साल्भाडोर पुर्याईएका मेरिल्याण्डका किल्मार अब्रेगो गार्सिया “जीवित र सुरक्षित” रहेको अमेरिकी विदेश बिभागले संघीय न्यायाधीशलाई जानकारी गराएको छ ।
अमेरिकाले गल्तीले निर्वासित गरेको नागरिकलाई आतंकवादी झ्यालखानामा राखिएको छ । सर्वोच्च अदालतको आदेशपछि ट्रम्प प्रशासन दबाबमा रहेको छ ।
ट्रम्प प्रशासनले मेरील्याण्ड निवासी किल्मार अब्रेगो गार्सियालाई गत महिनाको गल्तीपूर्ण निर्वासनपछि एल साल्भाडोरको बदनाम कारागारमा राखिएको पुष्टि गरेको छ। अमेरिकी विदेश बिभागले संघीय न्यायाधीशलाई जानकारी गराउँदै गार्सिया “जीवित र सुरक्षित” रहेको तर अझै अमेरिकी भूमिबाट टाढा रहेको जनाएको छ।
विदेश बिभागका वरिष्ठ अधिकारी माइकल कोजाकले अदालतमा बुझाएको विवरणमा न्यायाधीशले सोधेका प्रश्नहरू जस्तै गार्सियालाई फर्काउन सरकारले के कदम चालिरहेको छ भन्ने उल्लेख गरिएको थिएन। “हाम्रो दूतावासबाट प्राप्त विवरण नुसार गार्सिया हाल एल साल्भाडोरको आतंकवाद नियन्त्रण केन्द्रमा नजरबन्दमा छन्,” कोजाकले भने।
शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सोमबार एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेसँग भेट हुने जानकारी आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा दिएका छन् । उनले लेखे, “हाम्रा राष्ट्रहरू आतंकवादी संगठनको अन्त्य र समृद्ध भविष्य निर्माणका लागि मिलेर काम गर्दै छन्। ती बर्बरहरू अब एल साल्भाडोरको नियन्त्रणमा छन् । उनीहरूको भविष्य अब राष्ट्रपति बुकेले र उनको सरकारमाथि निर्भर छ।”
शुक्रबारको सुनुवाइमा न्यायाधीश पाउला जिनिसले सरकारको मौनता र अस्पष्टताप्रति आक्रोश व्यक्त गर्दै सोधिन्, “उनि कहाँ छन् र कुन अधिकारले राखिएको हो?” अदालतले सरकारलाई गार्सियाको अवस्थाबारे स्पष्ट जानकारी दिन र फर्काउने प्रक्रिया सुरु गर्न आदेश दिएको थियो।
गार्सियालाई एमएस -१३ गिरोहसँग जोडिएको आरोपमा निर्वासित गरिएको थियो, जुन उनको वकिलहरूले अस्वीकार गरेका छन्। अदालतका अनुसार गार्सियाको निर्वासन “प्रशासनिक गल्ती” थियो। यस मामिलाको कारण ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडा आलोचना खेप्नु परेको छ ।
प्रतिक्रिया