चीनले अमेरिकाले स्मार्टफोन(गतिशील घुम्ती यन्त्र) र अन्य बिधुतिय वस्तुहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक कर महसूल नीतिबाट छुट दिएको निर्णयलाई “त्रुटिपूर्ण नीतिको सुधारतर्फ सानो कदम” भनेको छ।
बेइजिङमा पत्रकारहरूसँग कुरा गर्दै चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, “यो छुट अमेरिकी एकपक्षीय र तथाकथित ‘पारस्परिक कर ‘ जस्तो गलत अभ्यास सुधार्ने दिशामा सानो कदम हो।”
प्रवक्ताका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ मा आफ्नो पारस्परिक शुल्क नीति घोषणा गरेपछि उक्त कदमले अमेरिकाका कुनै पनि समस्या समाधान गर्न नसकेको मात्र होइन, अन्तर्राष्ट्रिय आर्थिक र व्यापारिक व्यवस्थामा गम्भीर क्षति पुर्याएको छ। चीनले अमेरिकालाई ती भन्सार महसुलहरू “पूर्ण रूपमा खारेज” गर्न आह्वान गरेको छ।
गत बुधबार, राष्ट्रपति ट्रम्पले चीनबाहेक अन्य सबै व्यापारिक साझेदारहरूमा लागु हुने करहरू रोक्ने निर्णय गरेका थिए। चीनका सामानहरूमा भने हाल १४५% शुल्क लगाइएको छ। यसको जवाफमा बेइजिङले अमेरिकी सामानहरूमा १२५% भन्सार कर लगाएको छ।
तर शुक्रबार साँझ, ट्रम्प प्रशासनले केही बिधुतिय सामानहरू जस्तै स्मार्टफोन(गतिशील घुम्ती यन्त्र), सुसांख्य यन्त्र लगायत अन्य बिधुतिय पूर्जाहरुलाई भन्सार महसूलबाट छुट दिने घोषणा गर्यो। यसले एप्पल जस्ता अमेरिकी प्रविधि प्रतिष्ठानहरूलाई ठूलो राहत दिनेछ।
यस कदमलाई चीनले सानो सुधारको संकेत मानेको भए पनि, उसले अझै पनि पूर्ण भन्सार महसूल कर खारेजीको माग गर्दै अमेरिकामाथि दबाब कायम राखेको छ।
प्रतिक्रिया