दुई अमेरिकी विद्यार्थीहरू डेनमार्कमा पक्राउ

इनेप्लिज २०८२ वैशाख १ गते १०:०९ मा प्रकाशित

अमेरिकाका दुई विद्यार्थीहरू डेनमार्कमा वसन्त विदाको समयमा घुमफिरका क्रममा पक्राउ परेका छन्। उनीहरूलाई कोपेनहेगन विमानस्थलबाट अप्रिल १ मा नियन्त्रणमा लिइएको हो।

ओहायोस्थित मायामी विश्वविद्यालयका १९ वर्षीय ओवेन रे र उनका एकजना अज्ञात साथीलाई उबर चालकसँग विवादपछि प्रहरीले पक्राउ गरेको बताइएको छ। ओवेन रेका परिवारको तर्फबाट वकिल जर्डन फिन्फरले अमेरिकी संचार माध्यम एबिसीन्यूजलाई दिएको जानकारी अनुसार गत मार्च ३१ मा उनीहरू उबर चढेका थिए, तर गन्तव्य ठेगाना गलत राखिएको पाएपछि उनीहरूले गाडी रोक्न अनुरोध गरे।

वकिल फिन्फरका अनुसार, चालकले अन्यत्र लैजान अस्वीकार गरेपछि सबैजना गाडीबाट निस्किए। त्यसपछि शारीरिक झगडा भएको बताइएको छ। रेले वकिललाई बताए अनुसार, चालकले उनलाई गुप्ताङ्गमा लात हानेपछि उनले धकेलेर बच्ने प्रयास गरे र चालक लडे। त्यसपछि उनीहरू त्यहाँबाट भागे।

अर्को दिन विमानस्थलमा उनीहरूलाई पक्राउ गरिएको हो। डेनिश प्रहरीले उनीहरूलाई ‘उड्ने खतरा’ भएको भन्दै नियन्त्रणमा लिएको बताएको छ।

उबरले यो विषयमा गम्भीर अनुसन्धान भइरहेको जनाएको छ भने, “हाम्रो प्रयोगकर्ताको सुरक्षालाई उच्च प्राथमिकतामा राखिन्छ,” भन्ने वक्तव्य दिएको छ।

अमेरिकी दूतावासले आफ्नो नागरिकको सुरक्षामा प्राथमिकता दिने बताउँदै दूतावासका कर्मचारीहरूले सहयोग गरिरहेको जानकारी दिएको छ।

हालसम्म डेनमार्क प्रहरीले उनीहरूविरुद्ध कुनै मुद्दा नलागाइएको पुष्टि गरेको छ।

प्रतिक्रिया