वाल्टिमोर , अप्रिल १४ अमेरिकाको मेरिल्याण्ड राज्यमा आईतवार कविता महोत्सव सम्पन्न भएको छ । उक्त कविता महोत्सवमा २७ जना कविहरुले आ आफनो कविता वाचन गरेका थिए ।
कार्यक्रममा मेरिल्याण्ड राज्यका विधायक डा हयारी भण्डारी , नेपालवाट आउनभएका कवि डा नवराज लम्सालले आ आफनो कविता वाचन गरेर माहोललाई निकै तताउनु भएको थियो । कार्यक्रममा कवि एच वि भण्डारीले अमेरिकामा मृत्युवरण गरेको आफनो पात्रलाई विभिन्न विम्व प्रयोग गरेर प्रस्तुत गर्नु भएको थियो । उक्त कविताले हल भित्र सन्नाटा छाएको थियो ।
उहाँको कवितामा आउदा सिटमा अनेकन सपना र चाहना वोकेर हिडेको एक आप्रवासी मृत्युवरण गरेर कास्केटमा फर्किएको अनुभूतिलाई निकै भावुक शैलीमा प्रस्तुत गरेका थिए ।
मदन पुरस्कार विजेता एवं कवि नवराज लम्सालले आफनो कृतिहरुको वारेमा चर्चा गर्दे समय, परिवेश अनुसार सृजना गर्न स्रष्टाहरुलाई प्रोत्साहित गरेका थिए । उनले विदेशीएका नेपालीहरुले फैलिएको विस्तार भएको विम्व मार्फत अझ धेरै प्रगति गर्नको लागि अनुरोध गरेका थिए । उनले कार्यक्रममा अमेरिका आउँदाका रोचक प्रसङ्ग देखि आफू जन्मेको स्थलमा विताएका वाल्यपनलाई समेत संस्मरणात्मक रुपमा प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले सृजना गरेका पुस्तक अग्निलाई पाठकहरुले समेत प्राप्त गरेका थिए ।
अन्र्तराष्ट्रिय साहित्य समाज अनेसासले आयोजना गरेको कार्यक्रममा अग्रज व्यक्तित्व एवं सामाजिक अभियन्ता डा श्याम कार्कीले आफनो अर्धाङ्गिनीको वारेमा लेखिएको कविता वाचन गरेका थिए । ५२ वर्ष वैवाहिक जीवन विताएकी ईन्दिरासँग विताएका पलहरुको स्मरण गर्दे समाजमा सदैव एक रथको दुई पांग्रा वनेर श्रीमान श्रीमति सधै सँग हिडनु पर्ने उहाँको कविताको सन्देश थियो ।
अनेसास वोर्ड अफ ट्रष्टिका उपाध्यक्ष साहित्यकार तीर्थराज पाण्डेयले सूदूर पश्चिमको भाका र लयमा प्रवासीका चाहना ईच्छा र मातृभूमिको सम्झनाका वारेमा कविता वाचन गर्नु भएको थियो । कार्यक्रम संयोजक एवं कवि मधुकर अधिकारी त्रास र अन्यौलवाट मुक्त भइ आशाको सञ्चार गर्नुपर्ने विम्व मार्फत समस्याका चुनौतीहरुको वारेमा आफनो कवितामा समेटनु भएको थियो । यसै गरी पारस श्रेष्ठले कवितामा नेपालको राजनीतिक व्यवस्था र अवस्थ्या माथि चर्चा गर्नु भएको थियो भने सविता अधिकारीले मातृभूमिको लागि केही गर्न सुझाव दिइएको कविता प्रस्तुत गर्नु भएको थियो ।
कवि एवं विओटीको महासचिव प्रकाश नेपालले नेपाली पन र माटोलाई आफनो कवितामा समेटनु भएको थियो । यसै गरि कवि भैरव ढकालले भूतको सपना शीर्षकको कविता वाचन गर्नु भएको थियो ।
केही समय अगाडि भर्जिनियामा भएको ममता काफलेको जीवन माथि लेखिएको गजल तारा खराल न्यौपानेले आँसुको भाका प्रस्तुत गर्नु भएको थियो ।यसै गरि ममता काफले कै वारेमा सुनिता वस्नेतले कविता पाठ गरेर माहौललाई स्तव्ध वनाउनु भएको थियो । कवि गण्डकी पुत्रले झलकमान गन्धर्वको वारेमा संस्मरणात्मक कविता वाचन गर्नु भएको थियो । यसैगरी कवि नविन भट्टराईले प्रकृतिको वारेमा कविता वाचन गर्नु भएको थियो भने वीर वहादुर लोहनीले नेपाल र नेपालको संस्कृति र सम्पदाको वारेमा कविता वाचन गर्नु भएको थियो ।
अनेसास केन्द्रीय समितिका सदस्य पुष्पा खनालले देशलाई समृद्ध वनाएको सपनालाई उत्साहित भएर कवितामा सपनाका महललाई स्मरण गर्दे आँखा खुलेपछि वेचेैन भएको विरहका कुरा विम्व मार्फत प्रस्तुत गर्नु भएको थियो । यसै गरी कवि प्रवीण भण्डारीले मातृभूमिको मायाको वारेमा आफनो कविता वाचन गर्नु भएको थियो । कवि गोमा न्यौपानेले मातृभूमिको वारेमा लेखिएको कविता वाचन गर्नु भएको थियो । कवि सहदेव कोईरालाले नयाँ वर्ष र समयको वारेमा आफनो प्रस्तुति दिनु भएको थियो ।
कवि भीम विक्रम शाही भिषाले सात समुन्द्र वारी नेपाली पन प्रति देखाएको गजल वाचन गर्नु भएको थियो । सविता बस्नेत दानीले पनि आफ्नो कविता वाचन गर्नुभएको थियो। यसै गरि कवि यादव जोशीले आफनो अनुभूतिलाई प्रस्तुत गर्नुभएको थियो । कवि अशोक खातीले मातृभूमि र कर्मभूमिको तुलना गर्दे नयाँ वर्षको प्रवासिएको व्यक्तिको पीडालाई प्रस्तुत गर्नु भएको थियो ।
कवि विष्णु वरालले आफनो अनुभव र अनुभूतिलाई कविता मार्फत प्रस्तुत गनुभएको थियो भने कवि ज्ञानहरि घिमिरले आफनो कवितामा विभिन्न घटना क्रमको विम्व प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कवि निशेष कार्कीले परदेशी छोरालाई आमालाई लेखेको कविता प्रस्तुत गर्नु भएको थियो ।
यसै गरी कवि सतिश चापागाईले नायकको खोजी गरिएको भन्दै द्धन्द्धकालमा लागेका गोली र अहिले भोगिएको जीवनलाई प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा डा लम्साललाई उहाँले नेपाली भाषा र साहित्यको लागि गर्नु भएको योगदानको कदर गर्दे मेरिल्याण्ड राज्यको एशियन अमेरिकन प्यासिफिक आईल्याण्डर्स ( एएपिआई) को तर्फवाट प्रदान गरिएको साईटेशन ककसका अध्यक्ष डा हयारी भण्डारीले प्रदान गर्नु भएको थियो । कार्यक्रममा नेपाली समुदायको वाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया