लेगोस , नाइजेरिया ।गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२ को शुभकामना कार्यक्रम मनाउदैं कल्याणकारी कोषको स्थापना गरेको छ ।
संसार भर एनआरएनए अभियान बिबादमा अल्झिरहँदा एनआरएनए नाइजेरियाले भने आपत विपदमा पर्ने नेपालीहरु , नेपालमा प्राकृतिक विपत्तिमा र कल्याणकारी योजनाहरुका लागिसहयोग गर्न स्थायी प्रकृतिको कल्याणकारी कोष स्थापना गरेको छ ।
नयाँ बर्ष शुभकामना आदानप्रदान को लागि लेगोसमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सोमेश अर्यालले आफ्नो तर्फबाट एक मिलियन नाइजेरियन नायरा ( युएस डलर ६६७) को सहयोग घोषणा गर्दै उक्त कोष स्थापना गर्न सबैलाई सहयोग गर्न आह्वान गरेका थिए । कार्यक्रममा हिक्मत थापा , चिरञ्जीवी रोका , बिश्वास पौडेल , कर्णेल हेमन्त राणाले जनही एक मिलियन नायरा ( युएसडलर ६६७ जनही ) , भरत रिजाल ८ लाख नायरा ( ५३३ डलर ) , दिलीप जैसी ५०० डलर , बिदुर घिमिरे ३०० डलर र सुरज गिरीले ३०० डलर र प्रेम रोकाले पाँच लाख नायरा ( ३३३ डलर ) सहयोग गरेका छन । सहयोग जम्मा गर्ने अभियान संघले जारी राखेको छ ।
सन २००८ मा स्थापना भएको एनआरएनए नाइजेरियाले बिगतमा चितवन धरान , खोटाङ , मकवानपुर , रसुवा र कैलालीमा बिधालयका पुस्तकालय , प्रयोगशाला , छात्रवास भवनका निर्माण अतिरिक्त नेपालमा भुकप्म्प , बाढी पहिरो आदि बिपतमा सहयोग गर्दै आएको थियो । त्यसै गरि मानव तस्करहरु द्वारा अफ्रिकामा अलपत्र पारिने पिडित नेपालीको घर फिर्ती र राहतका लागि सहयोग गर्दै आएको छ ।
संघले अफ्रिकाका अन्य एनसीसीहरु संग मिलेर कोभिडकालमा नेपालका थुप्रै दुरदराजका अस्पतालमाहरुमा अक्सिजन सिलिन्डरहरु र अन्य स्वास्थ्य सामाग्रीको सहयोग पुर्याएको थियो ।
प्रतिक्रिया