“शून्य विजेता”: चीनको कडा चेतावनी — राष्ट्रपति ट्रम्पका महसुलविरुद्ध दृढ अडान

इनेप्लिज २०८२ वैशाख ३ गते १०:२२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको भारी महसुलबारे चीनले कडा प्रतिक्रिया जनाएको छ। बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “महसुल युद्ध वा व्यापार युद्धमा कुनै पनि विजेता हुँदैन। चीन लड्न चाहँदैन, तर डराउँदैन पनि।”

यो टिप्पणी पत्रकारले उठाएको सोधको जवाफमा आएको हो, जसमा हालै ह्वाइट हाउसको संजालस्थल (वेबसाइट)मा प्रकाशित तथ्यांकअनुसार चीनबाट आयात हुने वस्तुहरूमा २४५% सम्म महसुल लगाइने उल्लेख गरिएको छ।

ह्वाइट हाउसले मंगलबार सार्वजनिक गरेको एक तथ्यपत्रमा चीनले प्रतिशोधस्वरूप चालेका कदमका कारण यस्तो महसुल लाग्ने बताइएको छ। यसबारे लिन जियानले भने, “महसुल सम्बन्धी मुद्दामा चीनले पटक–पटक आफ्नो स्पष्ट र कठोर धारणा सार्वजनिक गरिसकेको छ। यो महसुल युद्ध अमेरिका स्वयंले सुरु गरेको हो, र चीनले आफ्नो वैध अधिकार तथा अन्तर्राष्ट्रिय न्याय र समानताको संरक्षणका लागि आवश्यक प्रतिकारात्मक कदम चालेको हो।”

चीनले लिएको सबै कदम “पूर्णरूपमा न्यायसंगत र कानुनी” भएको चीनको भनाइ छ। चीनले फेरि पनि व्यापारिक तनावको समाधान वार्तामार्फत खोजिनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया