पोप फ्रान्सिस र अमेरिकी उपराष्ट्रपति भान्स बीच भ्याटिकनमा ऐतिहासिक संवाद

इनेप्लिज २०८२ वैशाख ८ गते ०:५४ मा प्रकाशित

ईस्टर आइतबारको विशेष अवसरमा पोप ( इसाई धर्मगुरु)फ्रान्सिसले भ्याटिकन स्थित सेन्ट पिटर स्क्वायरमा हजारौं भक्तजनलाई आशीर्वाद दिनु अघि अमेरिकाका उपराष्ट्रपति जे.डी. भान्ससँग छोटो भेट गरेका छन्।

भ्याटिकनको पवित्र सन्त छापा कार्यालयका अनुसार उपराष्ट्रपति भ्यान्स बिहान ११:३० बजे आसपास कासा सान्ता मार्तामा पुगेका थिए। कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ “केही मिनेटसम्मको उक्त भेटवार्तामा दुवैले ईस्टरको शुभकामना साटासाट गरेका थिए।”

भेटपछि भ्यान्सले सामाजिक सञ्जाल एक्समा लेखे, “आज मैले पोप फ्रान्सिससँग भेट गरें। उहाँको आमन्त्रणप्रति आभारी छु र उहाँको उत्तम स्वास्थ्यको कामना गर्दछु।”

दिउँसो करिब १२ बजे, ८८ वर्षीय पोप फ्रान्सिस पाङ्ग्रेकुर्सी (व्हीलचेयर)मा बसेका अवस्थामा सेन्ट पिटर बासीलीकाको बाल्कनीमा देखापरे। उनले उपस्थित भिडलाई “बुओना पास्क्वा!” (ह्याप्पी इस्टर) भन्दै आशीर्वाद दिए।

आशीर्वादपछि पोपले विश्वमा बढ्दै गएको द्वन्द्वको अन्त्यको लागि गम्भीर सन्देश दिएका थिए।

प्रतिक्रिया