“चीनको कडा चेतावनी: ‘अमेरिकासँग मिलेर व्यापार रोक्नेहरूलाई मूल्य चुकाउनु पर्नेछ'”

इनेप्लिज २०८२ वैशाख ८ गते ११:२८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार युद्धको बीचमा चीनले आफ्नो व्यापार साझेदारहरूलाई अमेरिका पक्षधर नहुन चेतावनी दिएको छ।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले सोमबार जारी गरेको वक्तव्यमा भने, “सामयिक स्वार्थका लागि अरूलाई क्षति पुर्‍याउनु, र तथाकथित छुटको सट्टामा सम्झौता गर्नु — बाघसँग छाला मागेजस्तै हो। अन्त्यमा यसले कसैलाई लाभ गर्दैन, बरु दुबैलाई हानि पुर्‍याउँछ।”

चीनले कडा शब्दमा चेतावनी दिँदै भन्यो, “यदि कुनै पनि देशले चीनको हितविरुद्ध सम्झौता गर्छ भने, चीनले त्यसलाई स्वीकार गर्ने छैन र सशक्त जवाफी कदम चाल्नेछ।”

यो चेतावनी चीनका राष्ट्रपति सी जिनपिङको दक्षिणपूर्वी एसियामा गरिएको भ्रमण पछि आएको हो, जहाँ उनले चीनलाई भरपर्दो साझेदार र विश्वव्यापी व्यापारको रक्षकको रूपमा प्रस्तुत गरे। यो ट्रम्प प्रशासनको अनिश्चित र कठोर भन्सार नीतिको विपरीत धार थियो।

हाल ट्रम्पले अधिकांश देशहरूप्रति लगाइएको “पारस्परिक” भन्सारलाई ९० दिनका लागि रोक्दै चीनमाथि मात्र १४५% भन्सार बढाएका छन्। यस अवधीमा धेरै देशहरू अमेरिकासँग छुट पाउन वार्ता गरिरहेका छन्।

तर चीनले पनि जवाफस्वरूप अमेरिकी सामानमा १२५% भन्सार लगाएको छ र केही प्रमुख अमेरिकी कम्पनीहरूलाई “अविश्वसनीय संस्था” सूचीमा राखेको छ। साथै, चीनले हलिउड चलचित्रहरूलाई कोटा सीमित गर्दै दुई वटा बोइङ विमान पनि फर्काएको छ।

प्रतिक्रिया