जनप्रतिनिधिको दोस्रो कार्यकालले जित्यो बसन्तपुरको मन ‘

इनेप्लिज २०८२ वैशाख ९ गते ०:०७ मा प्रकाशित

प्रकाश भट्ट, कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर–७ को बसन्तपुर टोलमा विकासको नयाँ लहरले स्थानीयवासीको मन जितेको छ। लामो समयदेखि आधारभूत पूर्वाधारको अभावमा रहेको यो टोलमा सडक कालोपत्रे, नाली निर्माण र स्कूलजस्ता विकास कार्यले गति लिएपछि जनप्रतिनिधिको दोस्रो कार्यकालप्रति स्थानीयको विश्वास र सम्मान बढेको छ।

२०७९ को स्थानीय निर्वाचनपछि वडा अध्यक्ष थानेश्वर प्रसाद भट्ट र कार्यपालिका सदस्य पवन नेपालीको नेतृत्वमा बसन्तपुर टोलमा उल्लेखनीय परिवर्तन देखिएको छ। खासगरी, बसन्तपुरदेखि वडा नम्बर–९ सम्म जोड्ने सडक कालोपत्रे समयमै सम्पन्न भएकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। यो सडकले दैनिक जीवन सहज बनाउनुका साथै व्यापार, यातायात र सामाजिक गतिविधिलाई समेत सहयोग पुर्‍याएको छ।

वडा अध्यक्ष भट्टले यो उपलब्धि सामूहिक प्रयासको फल भएको बताए। “हामीले स्थानीयको आवश्यकता र चाहनालाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौँ। यो कालोपत्रे सडक हाम्रो प्रतिबद्धताको सुरुवात मात्र हो। आगामी दिनमा शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारमा थप सुधार गर्छौँ,” उनले भने।

कार्यपालिका सदस्य पवन नेपालीले स्थानीयको एकता र सहभागिताले यो परियोजना सफल भएको उल्लेख गरे। “हामीलाई स्थानीयको विश्वास र साथले यो काम सम्भव भएको हो। यो सम्मानले हामीलाई थप जिम्मेवारी थपिएको छ,” उनले थपे।

सडक कालोपत्रे कार्यको जिम्मेवारी लिएको जय माता डागेश्वरी बिल्डर्सका सञ्चालक भोजराज ठगुन्नालाई पनि स्थानीयले विशेष सम्मान गरेका छन्। उनले समयमै गुणस्तरीय काम सम्पन्न गरेर स्थानीयको मन जितेका छन्। “हामीले स्थानीयको अपेक्षालाई ध्यानमा राखेर काम गरेका हौँ। यो सम्मानले हामीलाई अझ उत्कृष्ट काम गर्न हौसला मिलेको छ,” ठगुन्नाले भने।

स्थानीय अगुवा टिकाराम भट्टले यो विकासले बसन्तपुर टोलको मुहार फेरिएको बताए। “हिजोसम्म हाम्रो टोलमा राम्रो सडक थिएन। आज कालोपत्रे सडकले नयाँ पहिचान दिएको छ। यो सबै जनप्रतिनिधिको सक्रियता र स्थानीयको एकताको परिणाम हो,” उनले भने। यो सडकले स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन र बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ।

यो परियोजनामा सङ्घीय सांसद एनपी साउद, प्रदेश सांसद बहादुर सिंह थापा, नगरप्रमुख भोजराज बोहरा, उपप्रमुखसहित वेदकोट नगर कार्यपालिका र वडा समितिको समन्वय उल्लेखनीय रहेको छ। स्थानीयवासीले यो विकासमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।

यो कालोपत्रे सडकले बसन्तपुर टोललाई वेदकोट नगरपालिकाको अन्य क्षेत्रसँग जोड्नुका साथै आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीयवासीले जनप्रतिनिधिको दोस्रो कार्यकालमा यस्तै विकास कार्यको निरन्तरता होस् भन्ने आशा राखेका छन्।

प्रतिक्रिया