अमेरिकाको नर्थ क्यारोलाइनामा नवौं नेपाल दिवस कार्यक्रम सम्पन्न

इनेप्लिज २०८२ वैशाख ९ गते २:१८ मा प्रकाशित

संयुक्त राज्य अमेरिका स्थित नर्थ क्यारोलाइना राज्यको मोरिसभिलमा गत शनिवार अप्रिल १९ का दिन ‘हाम्रो पहिचान, हाम्रै अभियान; समृद्धिको यात्रामा, नेपाली योगदान’ भन्ने मूल नाराका साथ नवौं नेपाल दिवस भव्यताका साथ सम्पन्न भएको छ ।नर्थ क्यारोलिनास्थित नेपालीहरुको साझा संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एन. सी. एन. सी.) को आयोजनामा सम्पन्न सो कार्यक्रममा नेपालीमूलका र नेपाललाई माया गर्ने समुदायका झण्डै दुई हजार सहभागीको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।

नेपालका विविध जनजातिका भेषभूषामा सुसज्जित सहभागीहरुको झाँकी र लाखे नृत्य सहित सुरु भएको उक्त कार्यक्रममा केरी,मोरिसभिल र एपेक्सनगर र नर्थ क्यरोलाइना राज्यका प्रतिनिधिहरुले नेपाल र नेपालीको मौलिक संस्कृतिको खुलेरै प्रशंसा व्यक्त गर्नुभयो । उहाँहरुले नेपाली नयाँ वर्षको शुभकामना दिँदै नेपालीहरुकोसबै क्षेत्रमा उपस्थिति रहेको बताउँदै यी क्षेत्रको सामाजिक, आर्थिक, शैक्षिक, र साँस्कृतिक प्रवर्धन र उन्नयनमा नेपालीहरुको योगदान रहेको जानकारीदिनुभएको थियो । यसरी आफ्नो मन्तव्य दिनुहुनेमा नर्थ क्यारोलिनाको तल्लो सदनकी सांसद मारिया सर्वानिया, वेक काउन्टी कमिस्नर सेरिल स्टलिंस्स, केरीनगर प्रतिनिधि सारिका वंशल, नर्थ क्यारोलिना यातायात विभागकि निर्देशक टुन्या स्मिथ, मोरिसभिल टाउनका टिजे कउली, स्टिभ राव, सतीश गारिमेला, लिज जोन्सन र एनी रोवोटी हुनुहुन्थ्यो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिशन शरदराज अरनले यस्ता कार्यक्रमलेआफ्नो संस्कृति, परम्परा र पहिचानलाई जोड्न टेवा पुग्ने भएकोले यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नवौँ नेपाल दिवस समारोह समितिका अध्यक्ष विक्रम गौतमले दोस्रो पुस्ताका बालबालिकाहरुलाई नेपाली मौलिक संस्कृति सिकाउन र यसको जगेर्नागर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै हाल यो क्षेत्रमा करिब १० हजार नेपाली बसोबास गरेको जानकारी दिनुभयो । मन्तव्यका क्रममा उहाँले नर्थ क्यारोलाइना राज्यको आर्थिक विकासमा यहाँ बसोवास गर्ने नेपालीहरुले खेलेको भूमिकाका बारे चर्चा गर्नु भएको थियो र स्थानीय सरकारसँग नेपालदिवसलाई आफ्नो क्यालेण्डरमा समावेश गर्न माग गर्नुभएको थियो। कार्यक्रममा मिस नेपाल उत्तर अमेरिका २०२४ कि उपाधि विजेता अन्ना कोइरालालाई सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

सन् २०१७मा टाउन अफ मोरिसभिलले अप्रिलको तेस्रो शनिवारलाई नेपाल दिवसको रुपमा मनाउन घोषणा गरेपछि विधिवत रुपमा शुरु भएको यो कार्यक्रमलाई विगतमा टाउन अफ एपेक्स तथा वेक काउन्टीले पनि अप्रिलको तेस्रो शनिवारलाई नेपाल दिवसको रुपमा मनाउन घोषणा गरिसकेका छन् शनिवार आयोजित कार्यक्रममा टाउन अफ केरीले पनि नेपाल दिवसलाई अनुमोदन गरेको छ ।

यस वर्षको कार्यक्रम संचालनका लागि विभिन्न व्यक्ति तथासंस्थाबाट करिब १५ हजार डलर चन्दा रकम प्राप्त गरेको संस्थाकी महासचिव कल्पना भण्डारीले जानकारी गराउनु भएको छ ।

सो अवसरमा एकआपसमा नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान, करिब तीन दर्जन नेपाली संस्कृति र परम्परा झल्काउने नृत्य र गीत सहितकोरमाइलो कार्यक्रम दिनभर सञ्चालन भएको थियो । त्यसैगरी स्थानीय दाइ-भाइ व्याण्ड, घिन्तांग व्याण्ड तथा डिजे म्याक्सका प्रस्तुतिहरुले उपस्थितदर्शकहरुलाई साँगीतिक मनोरन्जन प्रदान गरेका थिए । यस अतिरिक्त नेपाली खाद्य परिकार,नेपालीहरुद्वारा संचालित व्यापार व्यवसाय तथा नेपालीकलात्मक सामाग्रीका ३० भन्दा बढी स्टलहरु पनि राखिएका थिए ।

संस्थाका अध्यक्ष डा विकास शाक्यले उपस्थित सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रवासमा स्थानीय सरकारको मान्यतासहित नेपाल दिवस मनाउनपाउनु आफैमा गर्वको कुरा भएको र यस कार्यक्रमले अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको साँस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न मद्धत पुग्छ भन्नुभयो । डा शाक्यले समाजका सबै तह र तप्काको सहयोगको खुलेर प्रशंसा पनि गर्नुभयो ।

सो कार्यक्रमको औपचारिक अंश संस्थाकीमहासचिव कल्पना भण्डारी र सदस्य निभिता शर्माले सञ्चालन गर्नुभएको थियो भने साँस्कृतिक अंश प्रियांशु नेपाल, संयम लामिछाने र गीतिका अर्यालले सन्चालन गर्नुभएको थियो।

प्रतिक्रिया