बाल संज्ञान

इनेप्लिज २०८२ वैशाख ९ गते १०:३० मा प्रकाशित

आजको खल्लो दृश्यमा ती रङ्ग नै कहाँ छन् र!
इन्द्र धनुषका गोरेटामा हिँड्दा त कहिले पातालका गहिराइ नाप्दा,
निश्चल निष्कपट मुस्कान बोक्दै बालखामा चाखेको ब्रह्माण्डको स्वाद!

आजको हल्लामा त्यो मौनता नै कहाँ छ र !
चमत्कारी ती शब्द जसलाई कुनै अर्थ चाहिन्नथ्यो,
केही डर अनि हजारौँ निशब्द सपना बोक्दै,
दीक्षा बिनै उब्जिएका ती प्रेमभाव !

आजको सत्यतामा त्यो निष्ठा नै कहाँ छ र !
सुनकेस्री कपाल, कैयौँ चमत्कार सुन्दै,
वायुपंखी अश्व चढी अनेक लोक घुम्दै,
मिथ्या समेत चोख्याउने ती नि:शर्त साथ !

आजका सोधमा गहिराइ नै के छ र !
गतिशीलतासँगै अनेक लहरहरू बटुल्दै,
बातैपिच्छे अनन्त उत्तर खोज्दै ,
मूल्याङ्कन होइन साथ रोज्ने ती प्रश्नहरू !

कति मिठा ! कति सुन्दर ! कति निश्चल ! कति घनीभूत !
बालखामा चाखेका ती ब्रह्माण्डको स्वाद !

-उमङ्ग शाह

प्रतिक्रिया