नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेको दाबी गरेका छन् । लाखौं शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा होमिएको यतिका दिन भइसक्दा पनि समाधान नखोजिनुपर्ने प्रधानमन्त्री ओलीले सरकारमा बस्ने हैसियत र नैतिकता गुमाइसकेको पुष्टि हुने उनले बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित विशेष कार्यक्रमलाई अध्यक्ष प्रचण्डले शिक्षकहरुको आन्दोलनलाई हल्का रुपमा लिनु घातक हुने बताए ।
‘यो सरकार, साच्चै भन्ने हो भने अब एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत, औचित्य गुमाइसकेको छ । लाखौं शिक्षकहरु सडकमा छन् । शिक्षकको समस्या समाधानको लागि गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउनेबाहेक उहाँले केही पनि गर्नुभएको छैन । यो भन्दा लाजमर्दो कुरा के हुन्छ ?’ प्रश्न गर्दैै उनले भने ।
त्यसैगरी, लघुवित्त पीडित, सहकारी पीडित तथा चिकित्सकहरू आन्दोलनमा रहेको अवस्थालाई उल्लेख गर्दै उनले ती सबैको जायज माग छिटो सम्बोधन गर्नुपर्ने बताए । ‘सरकार पूर्ण रूपमा असफल भइसकेको छ। अब जनताको आवाजप्रति गम्भीर हुन ढिलो गर्नुहुन्न,’– उनले भने ।
शिक्षकहरुको आन्दोलनको बीचमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको राजीनामाले पनि यो सरकार कतिसम्म गैरजिम्मेवार छ भन्ने कुरा पुष्टि गर्ने उनले बताए । कांग्रेस–एमाले गठबन्धन सरकार आफ्नै बोझमा दबिएर सिद्दिने प्रचण्डको दाबी छ । प्रचण्डले शिक्षकहरुलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन आग्रह गरे । यो पटकको आन्दोलन असफल हुन नदिने जिम्मेवारीका साथ अगाडि बढ्न उनले शिक्षकहरुलाई आग्रह गरे भिडियो
प्रतिक्रिया