अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण रोक्न आग्रह गरे पनि रुसले शुक्रवार राति फेरि घातक हवाई आक्रमण गरेको छ । उक्त आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
मानव रहीत यान (ड्रोन) आक्रमणमा पूर्वी शहर पाभ्लोहरादमा एक बालक र ७६ वर्षीय महिला सहित तीन जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दक्षिणी क्षेत्र खेरसोनमा दुई जनाको ज्यान गएको डोनेट्स्क र खार्किभमा थप तीन जनाको मृत्यु भएको छ।
गत बिहीबार, रुसले कीभमाथि पछिल्लो वर्षको मध्यदेखि हालसम्मको सबैभन्दा ठूलो बमबारी गर्यो, जसमा १२ जनाको मृत्यु र ८७ जना घाइते भएका थिए । उक्त आक्रमणमा उत्तर कोरियाली प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )प्रयोग भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसल मार्फत पुटिनलाई आक्रमण बन्द गर भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले “म खुसी छैन,” र शान्ति प्रक्रिया अघि नबढ्दा निराश भएको लेखेका थिए ।
शुक्रबार ट्रम्पका विशेष दूत स्टिभ विटकोफ मस्को पुगेर पुटिनसँग वार्ता गर्ने तयारीमा छन्। रुसका विदेशमन्त्री सर्गेई लावरोभले सम्झौताको लागि तयार रहेको तर केही बुँदामा अझै सहमति आवश्यक भएको बताएका छन्।
युक्रेनी राष्ट्रपति ज़ेलेन्स्कीले क्राइमियालाई रुसको भाग मान्न अस्वीकार गरेपछि शान्ति प्रक्रिया थप जटिल बनेको छ। ट्रम्प प्रशासनले क्राइमियालाई रुसको हिस्सा मान्ने प्रस्तावले युरोपेली सहयोगीहरूलाई चिन्तित बनाएको छ। यस संघर्षले अब विश्व राजनीतिमा गहिरो प्रभाव पार्न थालेको छ।
प्रतिक्रिया