“धोका, बेइमानी र विश्वासघातको मूल्य: रिपब्लिकनका पूर्व अमेरिकी सांसद जर्ज सान्टोसलाई ७ वर्षको कारागार सजाय”

इनेप्लिज २०८२ वैशाख १२ गते २२:२३ मा प्रकाशित

न्यूयोर्कको संघीय अदालतले पूर्व अमेरिकी सांसद जर्ज सान्टोसलाई विद्युतीय माध्यमबाट ठगी र पहिचान चोरी सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ८७ महिना (७ वर्षभन्दा बढी) कैद सजाय सुनाएको छ। यो फैसला शुक्रबार लङ आइल्यान्डस्थित सेन्ट्रल आइसलिपको अदालतमा दिइएको हो।

सान्टोसले न्यूयोर्कको तेस्रो कङ्ग्रेसनल जिल्ला प्रतिनिधित्व गर्दै गर्दा मतदाता र दाताहरूलाई धोका दिन आफ्ना व्यक्तिगत कथाहरू फर्जी बनाएर प्रस्तुत गरेका थिए। उनले गत अगस्तमा दुई मुद्दामा दोषी भएको स्वीकार गरेका थिए।

पूर्वी न्यूयोर्कका अमेरिकी अधिवक्ता जोन डरहमले भने, “सान्टोसका अपराधहरू हाम्रो लोकतान्त्रिक प्रक्रिया र प्रतिनिधित्व प्रणालीप्रति ठूलो अपमान हो।” उनले थपे, “आज उनलाई धोका, छलकपट र बेइमानीको लागि जवाफदेही बनाइएको छ।”

सान्टोसले अदालतमा आँसु पोख्दै आफ्नो अपराध स्वीकार गर्दै समर्थन गर्नेहरूप्रति गहिरो माफी मागे। उनले भने, “म विगत परिवर्तन गर्न सक्दिन, तर म समुदायलाई केही फिर्ता दिन चाहन्छु।” उनले अदालत पुग्नुअघि भने, “म कठोर सजायका लागि तयार छु। म क्षमादान माग्नेछैन।”

अदालतबाहिर उनका समर्थक र पूर्व मतदाताहरूले ‘सत्य महत्वपूर्ण छ’ र ‘हामी फेरि धोका खाँदैनौं’ जस्ता प्रचार सामग्री बोकेका थिए। अब सान्टोस जुलाई २५ बाट कारागार जानेछन्।

प्रतिक्रिया