अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन विभाग (आइसिइ) र फ्लोरिडाका प्रहरी अधिकारीहरूले संयुक्त रूपमा “अपरेशन टाइडल वेभ” अर्थात् अवैध आप्रवासीहरू विरुद्ध एक विशाल कारबाही सञ्चालन गर्दै चार दिनमा ७८० अवैध आप्रवासीहरूलाई पक्राउ गरेका छन्।
यो कारबाही सोमबारदेखि सुरु भएको थियो । यस अभियानमा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन विभागले आफ्नो २८७ (जी)अधिकार प्रयोग गरी स्थानीय प्रहरीहरूलाई पनि संघीय कानुन अनुसार कारबाही गर्न अनुमति दिएको हो ।
यो अधिकार प्रयोग गर्दै राज्य तथा स्थानीय निकायका प्रहरीहरूलाई अवैध आप्रवासीहरूलाई पक्राउ गर्न सशक्त बनाएको छ। आइसिइका कार्यवाहक निर्देशक टड लायन्सले यो पहिलोपटक यति ठूलो स्तरमा राज्य र संघीय साझेदारहरूसँग मिलेर कारबाही गरिएको बताएका छन्।
“हामीले गृह सुरक्षा अनुसन्धान तथा प्रवर्तन विभाग र स्थानीय निकायहरूसँग मिलेर सम्पूर्ण सरकारी शक्ति प्रयोग गरेका छौँ,” लायन्सले भने।
चार दिनको अवधिमा फ्लोरिडाको विभिन्न कानुन प्रवर्तन निकायहरूले २७५ व्यक्तिलाई “अन्तिम हटाउने आदेश” सहित पक्राउ गरेका छन्, जसको अर्थ तिनीहरूलाई छिट्टै देश निकाला गर्न सकिनेछ।
आइसिइकी उप–निर्देशक म्याडिसन शीहानका अनुसार यस्ता साझेदारीहरू अब देशभर फैलाइनेछन्। उनले टेक्सस र भर्जिनियामा समेत यस्तै ऐतिहासिक साझेदारीहरू विस्तार भइरहेको उल्लेख गरिन्।
लायन्सले अन्त्यमा भने, “राज्य र स्थानीय कानुन प्रवर्तन निकायहरूसँगको सहकार्यले हाम्रो समुदायलाई थप सुरक्षित बनाएको छ।”
प्रतिक्रिया