अमेरिकाको भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीमा प्रहरीले गोली प्रहार गर्दा एक पुरुषको मृत्यु भएको छ भने एक वृद्ध महिलालाई गोली लागेर अस्पतालमा भर्ना गरिएको छ।
एनबिसीवाशिंगटनका अनुसार अप्रिल २६ शनिबार बिहान करिब १० बजे प्रहरीलाई प्राप्त भएको आपत्कालीन खबर गरिए अनुसार एक व्यक्ति छुरी लिएर आत्महत्या गर्ने धम्की दिइरहेका थिए । जब प्रहरी अधिकारीहरू घटनास्थलमा पुगे, तब ती व्यक्तिले आफ्नो हजुरआमाको आवासगृह (अपार्टमेन्ट)मा आक्रामक व्यवहार गरिरहेको देखियो ।
प्रिन्स विलियम काउन्टी प्रहरीका प्रमुख पीटर न्यूसहमले पत्रकार सम्मलेनमा भने, “व्यक्ति प्रहरी अधिकारीहरूतर्फ दौडिए र हामीले हतियार प्रयोग गर्नुपर्यो।”
घटनामा उपस्थित हजुरआमा आवासगृह (अपार्टमेन्ट)को पछाडि रहेको बताइन्छ। न्यूसहमका अनुसार, “चक्कु लिएर त्यहाँ पुगेका ती पुरुषले हजुरआमासँग पनि संघर्ष गरे। त्यसपछि प्रहरीले पुनः गोली चलाए।” दोस्रो पटक गोली चलाउँदा ती पुरुषको मृत्यु भयो। उनकी पहिचान सार्वजनिक गरिएको छैन, तर उनी २६ वर्षका थिए।
अर्को तर्फ, ती वृद्ध महिलालाई चक्कु प्रहारको साथै गोलीको कारण घाउ भएकोले अस्पताल लगिएको छ। प्रहरीका अनुसार उनको स्वास्थ्य स्थिति गम्भीर भए तापनि स्थिर रहेको छ ।
प्रिन्स विलियम काउन्टी प्रहरीले गोली प्रहारको घटनाको थप अनुसन्धान गर्नेछ र पछि यसलाई प्रिन्स विलियम काउन्टीका राष्ट्रमण्डल अधिवक्ताको कार्यालयमा बुझाउनेछ।
दुई प्रहरी अधिकारीहरूले गोली चलाएका थिए भने उनीहरूलाई प्रशासनिक बिदामा राखिएको छ । तर उनीहरूको पहिचान हाल सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार एक अधिकारी विभागका पुराना सदस्य हुन् भने अर्का नयाँ अधिकारी हुन् जसको करिब डेढ वर्षको अनुभव छ।
प्रतिक्रिया