पुटिनद्वारा युक्रेनमा तीन दिन एकतर्फी युद्धविराम घोषणा, मानवीय कदम वा रणनीतिक खेल?

इनेप्लिज २०८२ वैशाख १५ गते १४:१० मा प्रकाशित

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मे ८ देखि तीन दिनका लागि युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गरेका छन्। 

क्रेमलिनले सोमबार जानकारी दिँदै यो निर्णय दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयको सम्झनामा मनाइने विजय दिवससँगै मानवीय कारणबाट गरिएको स्पष्ट गरेको छ।

क्रेमलिनका अनुसार, मे ८ को मध्यरातबाट मे ११ को मध्यरातसम्म “सबै प्रकारका सैन्य कारबाहीहरू” स्थगित गरिनेछ। रूसले प्रत्येक वर्ष मे ९ तारिखका दिन विजय दिवस भव्य रूपमा मनाउँदै आएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका एक सल्लाहकारले प्रतिक्रिया दिँदै भनेका छन्, “युद्धविराम बिना सर्त हुनुपर्छ, अन्यथा यो सबै पुटिनका रणनीतिक चाल मात्र हुन्।”

यसअघि पनि मास्कोले अमेरिकाले प्रस्ताव गरेको ३० दिनको युद्धविराम प्रस्ताव अस्वीकार गरेको थियो जुन युक्रेनले समर्थन गरेको थियो।

यसबाहेक पुटिनले इस्टर पर्वका बेला ३० घण्टे एकतर्फी युद्धविरामको घोषणा गरेका थिए। किभले त्यसबेला पनि चासो व्यक्त गर्दै सहमति जनाएको थियो। 

तर युक्रेनी सेनाले त्यस युद्धविराम उल्लंघन गर्दै रूसले व्यापक आक्रमण गरेको आरोप लगाएको थियो। 

त्यस्तै, मास्कोले पनि युक्रेनमाथि युद्धविराम तोडेको आरोप लगाएको थियो।

प्रतिक्रिया