दमाम (साउदी अरब), २७ चैत । वैदेशिक रोजागारीका सिलसिलामा साउदी अरब आएका नेवार समुदायले नेवारी खानाका विभिन्न परिकारका साथमा नयाँ वर्ष २०७३ को स्वागत गरेका छन् ।
शुक्रबार साउदीको जुबेलस्थित समुद्री तटमा भेला भएका उनीहरुले नेवारी खानासँगै शुभकामना आदानप्रदान गरेका हुन् । नेवारी रीतिरिवाज, परम्परा र मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप नेवारी परिकारका साथ नयाँ वर्ष मनाइएको हो । सो अवसरमा समयबजी, माछा, छोय्ला, चुकौनी, चिउरा, भटमास लगायतका नेवारी परिकार बनाइएको थियो ।
नेवाः समाज साउदी अरबद्वारा आयोजित कार्यक्रममा नेवार समुदायका चाडपर्वका विषयमा समेत चर्चा गरिएको थियो । प्रवासमा रहे पनि नेवारी रीति र परम्परालाई निरन्तरता दिन सबै नेवारी चाडपर्व मनाउने तयारी गरिएको समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया